रामेछाप, माघ २८ – मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको भीषण बस दुर्घटनापछि स्थानीयवासी आन्दोलित बनेका छन्। घटनाको सत्य–तथ्य छानबिन गर्नुपर्ने माग राख्दै उनीहरूले बुधबार बिहानदेखि मन्थली–खुर्कोट सडकखण्ड अवरुद्ध गरेका हुन्।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खस्दा १२ जनाको ज्यान गएको थियो। दुर्घटनापछि स्थानीय प्रशासन र सम्बन्धित यातायात समितिले पर्याप्त चासो नदिएको आरोप लगाउँदै स्थानीयले आन्दोलन थालेका छन्।
आन्दोलनका कारण काठमाडौँबाट आएका सवारी साधनलाई खुर्कोटमै रोकिएको छ भने मन्थली प्रवेश गर्ने गाडीलाई आकाशे क्षेत्रमा नियन्त्रणमा राखिएको छ। गाउँबाट छुटेका सवारी साधनसमेत खिम्ती क्षेत्रमा रोकिएको जनाइएको छ।
स्थानीयले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने उनीहरूको जोड छ।
प्रशासनसँग वार्ताको पहल नभएसम्म सडक अवरोध जारी रहने स्थानीयको चेतावनी छ। दुर्घटनापछि रामेछाप क्षेत्रमा शोक र आक्रोश दुवै देखिएको छ।
