काठमाडौँ, फागुन ४ – प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले व्यापक सुरक्षा तयारी अघि बढाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रबाट थप करिब १३ हजार प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो।
प्रहरी प्रधान कार्यालयले पहिलो चरणमै ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टरलाई विभिन्न जिल्लामा खटाइसकेको छ। अब थप १ सय डीएसपी र ४ सय इन्स्पेक्टर परिचालन गर्ने तयारी गरिएको छ। केन्द्रबाट पठाइने सुरक्षाकर्मी उपत्यका प्रहरी कार्यालय अन्तर्गतका गण–गुल्म तथा प्रधान कार्यालयबाट परिचालित हुनेछन्।
प्रहरीका अनुसार देशभर १० हजार ९६७ मतदान स्थलमध्ये उल्लेख्य संख्या अति संवेदनशील सूचीमा छन्। मधेस प्रदेशमा सबैभन्दा बढी १ हजार २४६ मतदान स्थल अति संवेदनशील रहेका छन्। लुम्बिनीमा ४६२, सुदूरपश्चिममा ४८१, कोशीमा ४३९, बागमतीमा ३५४, गण्डकीमा ३२८ र कर्णालीमा ३५८ मतदान स्थल अति संवेदनशील मानिएका छन्। ती क्षेत्रमा सुरक्षाको विशेष रणनीति अपनाइने जनाइएको छ।
एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरीका ७३ हजार, म्यादीसहित १ लाख ३३ हजार ९८०, सशस्त्र प्रहरी बलका १५ हजार ११० र नेपाली सेनाका ७९ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। राष्ट्रिय अनुसन्धान विभागका २ हजार जनशक्ति सूचना संकलनमा खटिनेछन्। यसरी कुल ३ लाख १५ हजार सुरक्षाकर्मी तीन तहको सुरक्षा घेरामा रहनेछन्।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा दुई जना इन्स्पेक्टर, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा चार जना इन्स्पेक्टर परिचालन गरिने व्यवस्था मिलाइएको छ। आवश्यक परे डीएसपी नेतृत्वको रिजर्भ टोलीले दुई–तीन स्थानीय तहलाई सहयोग गर्नेछ। प्रहरीका अनुसार फागुन १० भित्र सबै क्षेत्रमा सुरक्षाकर्मी खटाइसक्ने तयारी गरिएको छ।
