सेवा–सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीको प्रदर्शन


सेवा–सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीको प्रदर्शन
  • नवकिरण
  • फागुन ५, २०८२

हुम्ला, फागुन ५ – सेवा–सुविधा पर्याप्त नभएको गुनासो गर्दै हुम्लामा खटिएका निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन्। उनीहरू भेला भएर आफ्ना मागबारे आवाज उठाइरहेका छन्।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा–सुविधासम्बन्धी विषय उठाएर प्रदर्शन गरिरहेको र त्यसबारे जानकारी लिने तथा बुझ्ने काम भइरहेको बताए। उनका अनुसार यो विषय निर्वाचन आचारसंहितासम्बन्धी छलफलका क्रममा पनि उठाइएको छ।

‘म निर्वाचन आचारसंहिताबारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको हुँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको छ।’

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। नियमअनुसार उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ। साथै, मतदानको दिन अघिपछि गरी चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च उपलब्ध गराइने छ।

हिमाली क्षेत्रका म्यादी प्रहरीले पहाडी र तराई क्षेत्रको तुलनामा केही बढी सुविधा पाउने प्रावधान छ। यसअनुसार हिमाली क्षेत्रमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ, पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ पर्ने व्यवस्था रहेको बताइएको छ।

तर, हुम्लामा खटिएका निर्वाचन प्रहरीले पहिले जानकारी गराइएको भन्दा कम रकम दिने चर्चा चलेपछि आफूहरू आन्दोलनमा उत्रिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी रेग्मीले भने नियमकानुन अनुसार नै सेवा–सुविधा उपलब्ध गराइने स्पष्ट पार्दै भने, ‘केही गलत बुझाइ (मिस अन्डरस्ट्यान्डिङ) का कारण उनीहरू आन्दोलित भएका हुन सक्छन्।’