वीरेन्द्रको शालिकमा चढेर नाराबाजी गरिएको घटनाप्रति राप्रपाको आपत्ति


वीरेन्द्रको शालिकमा चढेर नाराबाजी गरिएको घटनाप्रति राप्रपाको आपत्ति
  • नवकिरण
  • फागुन ८, २०८२

बुटवल, फागुन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दाङमा राजा वीरेन्द्रको शालिकमाथि चढेर नाराबाजी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

बिहीबार राति रवि लामिछाने दाङ आगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–स्थित वीरेन्द्रचोकमा केही व्यक्तिहरू शालिकमाथि उभिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा नाराबाजी गरेको बताइएको छ। उक्त गतिविधिलाई राप्रपाले अपमानजनक र अस्वीकार्य व्यवहारको रूपमा व्याख्या गरेको छ।

राप्रपा लुम्बिनी प्रदेश समितिका सचिव राजेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा यस्ता क्रियाकलापले आम नागरिकको आस्थामा चोट पुग्ने उल्लेख गर्दै कडा शब्दमा भर्त्सना गरिएको छ। साथै, सम्बन्धित पक्षले सार्वजनिक रूपमा धारणा स्पष्ट पार्दै माफी माग्न र भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाउन माग गरिएको छ।

राप्रपाले निर्वाचनको सन्दर्भमा सबै दलले संयमता अपनाउनुपर्ने बताउँदै मतदातालाई निर्धक्क वातावरणमा मतदान गर्न दिने दायित्व सबै राजनीतिक शक्तिको भएको स्मरण गराएको छ। स्वस्थ र सभ्य प्रतिस्पर्धाका लागि अन्य दलप्रति नकारात्मक प्रभाव पार्ने गतिविधि नगर्न समेत आग्रह गरिएको छ।

यसैबीच, सोही राति दाङमै रास्वपा समर्थकको समूहले नेकपा एमाले (एमाले) को झण्डा जलाएको तथा अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको आरोप छ। घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न एमालेले सरकारसँग माग गरेको जनाएको छ।