काठमाडौं, जेठ ८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठ १५ गतेदेखि सुरु गर्ने भनिएको आन्दोलनको पूर्वसन्ध्यामा अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षभन्दा मुनिका युवासँग अन्तरसंवाद गर्ने भएका छन्। ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा’ नाम दिइएको उक्त अन्तरसंवाद कार्यक्रम जेठ १२ गते राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना गरिनेछ।
राप्रपाका युवा विभाग प्रमुख प्रकाश रिमालका अनुसार कार्यक्रममा युवाहरूको जिज्ञासा र प्रश्नहरूको प्रत्यक्ष रूपमा समाधान गरिनेछ। युवाहरूसँगको संवादमार्फत राप्रपाले उठाएका प्रमुख एजेन्डा—राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्रको घोषणा, संघीयताको खारेजी लगायत विषयमा स्पष्टिकरण दिने अध्यक्ष लिङ्देनको तयारी छ।
राप्रपाले आन्दोलनमा युवाहरूको सक्रिय सहभागिता बढाउन तथा ‘राप्रपा भनेको पुरानो पुस्ताको मात्र पार्टी हो’ भन्ने आम धारणा तोड्न यो कार्यक्रमलाई अवसरको रूपमा लिएको जनाएको छ। कार्यक्रम राजनीतिक तथा गैरराजनीतिक सबै क्षेत्रका युवाहरूलाई लक्षित गरिएको छ।
यसअघि पनि राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग संवाद गरिसकेको छ भने जेठ १५ गतेको आन्दोलनको तयारीस्वरूप उपत्यकाभर कार्यकर्ता भेलाहरू सञ्चालन गरिरहेको छ।
राप्रपाका अनुसार आन्दोलनको पछिल्लो मार्गचित्र, पार्टीको राजनीतिक, सामाजिक तथा आर्थिक दृष्टिकोणबारे समेत अन्तरसंवादमा छलफल गरिनेछ।