५ वर्ष ८ महिना जेल बसेपछि बिरन्जन यादव निर्दोष ठहर


५ वर्ष ८ महिना जेल बसेपछि बिरन्जन यादव निर्दोष ठहर
  • नवकिरण
  • जेष्ठ ८, २०८२

काठमाडौँ, जेठ ८ – बलात्कार आरोपमा ५ वर्ष ८ महिना जेल जीवन बिताएका बिरन्जन यादवलाई सर्वोच्च अदालतले निर्दोष ठहर गरेको छ। सरस्वती क्याम्पसमा बीबीए अध्ययनरत बिरन्जन २०७६ भदौ २३ मा पक्राउ परेका थिए।

कक्षा ९ मा पढ्ने एक किशोरीले बलात्कारको आरोप लगाएपछि उनीमाथि मुद्दा चलाइएको थियो। किशोरीले आफ्नो उमेर नाबालिग दाबी गरेकी थिइन् तर प्रमाणहरू अनुसार उनी १८ वर्ष नाघिसकेको पुष्टि भयो। नाम र जन्ममिति समेत फरक देखिएपछि अदालतले प्रमाण अपुरो ठहर गर्‍यो।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले सफाइको फैसला गर्दै उनलाई २०८२ जेठ २ गते रिहा गर्‍यो। सामान्य परिवारका बिरन्जनले निःशुल्क कानुनी सहयोगमार्फत न्याय पाए।

अब उनी आफ्नो गाउँ वीरगन्जमा पुनःस्थापनाको अर्को संघर्षमा छन्।