काठमाडौँ, जेठ १२ – नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ।
आज बिहान बसेको पार्टी पदाधिकारी बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक निर्दोष रहेको स्पष्ट पारे। उनले दोषीलाई कारबाही हुनुपर्नेमा कांग्रेसको अडान रहेको बताए।
‘जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं,’ प्रवक्ता महतले भने, ‘जो संलग्न छन्, उनीहरूलाई कानूनी कारबाही हुनैपर्छ।’
प्रवक्ता महतले मन्त्री लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको आरोप समेत लगाए। भिजिट भिसासम्बन्धी विवाद पछिल्लो समय चर्चामा आएको विषय हो, जसमा गृहमन्त्रालयको भूमिका पनि उठाइएको थियो। तर कांग्रेसले आन्तरिक छानबिनपछि गृहमन्त्री लेखक निर्दोष रहेको जनाएको हो।