आजै जनमत संग्रह सम्पन्न भएको लिङ्देनको दाबी, गणतन्त्र पक्षधरको प्रदर्शनलाई खिसीट्युरी


आजै जनमत संग्रह सम्पन्न भएको लिङ्देनको दाबी, गणतन्त्र पक्षधरको प्रदर्शनलाई खिसीट्युरी
  • नवकिरण
  • जेष्ठ १५, २०८२

काठमाडौं, जेठ १५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको दिनलाई ‘जनमत संग्रह’ को संज्ञा दिँदै जनताले राजतन्त्रको पक्षमा मत दिएका दाबी गरेका छन्।

राजतन्त्र र हिन्दूराज्य पुनर्स्थापनाको मागसहित सुरु भएको आन्दोलनको पहिलो दिनको प्रदर्शनलाई ‘जनमत संग्रह’ को उदाहरण दिंदै उनले उक्त प्रदर्शनले जनताको भावना स्पष्ट रूपमा देखिएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनलाई खिसीट्युरी गर्दै लिङ्देनले भने, “हामीले घोषणा गरेपछि उहाँहरूले पनि सडकमा आउन आग्रह गर्नुभयो। अब हेर्नुस् त, राज्यको शक्ति प्रयोग गरेर ल्याइएको त्यो गणतन्त्र पक्षधरहरूको प्रदर्शन कति कमजोर देखियो।”

उनले आन्दोलनको पहिलो दिनमै जनताले स्पष्ट सन्देश दिएको उल्लेख गर्दै भने, “आज एउटा जनमत संग्रह सम्पन्न भएको छ। जनताको मत राजतन्त्रको पक्षमा छ भन्ने प्रमाणित भएको छ।”

आन्दोलन नढालेसम्म आफूहरू नरोकिने स्पष्ट पार्दै लिङ्देनले आजको प्रदर्शनलाई ‘कास्टिङ’को रूपमा व्याख्या गरे। देशका विभिन्न भागबाट आएका प्रदर्शनकारी लामो समयका लागि राजधानीमा बस्ने योजना रहेको जानकारी दिंदै उनले काठमाडौंवासीसँग सहयोगको अपील गरे।

लिङ्देनले छोटो सम्बोधन गर्दै भने, “यो कुनै पार्टीको मात्र आन्दोलन होइन, यो सम्पूर्ण नेपाली जनताको राष्ट्रिय आन्दोलन हो।”

उनको भनाइ अनुसार, राप्रपालगायत विभिन्न शक्ति समुहहरूले गणतन्त्र विरुद्ध एकताबद्ध रूपमा अघि बढेका छन् र आन्दोलन जारी रहनेछ।