काठमाडौं, असार १ – पछिल्लो समय नेपालमा गाई तथा राँगाभैंसीमा फैलिएको लम्पी स्किन रोग प्रति सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। यो एक संक्रामक भाइरल रोग हो, जसले पशुमा छालामा गिर्खा, गाँठा र संक्रमणको समस्या ल्याउँछ।
विशेषज्ञहरूका अनुसार लम्पी स्किन रोग पशुबाट मान्छेमा प्रत्यक्ष सर्ने रोग भने होइन। पशु चिकित्सक डा. विनय कुमार कर्णका अनुसार यो ‘जूनोटिक डिजिज’ नभएको वैज्ञानिक प्रमाणहरूबाट पुष्टि भइसकेको छ। तर रोग लागेको जनावरको मासुमा भाइरसको अंश, ब्याक्टेरिया, वा औषधिको अवशेष हुन सक्ने भएकाले मानव स्वास्थ्यमा अप्रत्यक्ष असर पर्न सक्ने सम्भावना रहन्छ।
उनले भने, “लम्पी स्किन लागेका पशुको मासुमा गाँठा र घाउहरू देखिन्छन्, जसले मासुको गुणस्तर, स्वाद र पोषणलाई असर गर्न सक्छ। यस्तो मासु खान योग्य हुँदैन।”
खाद्य अनुसन्धान अधिकृत प्रतीक जोशीका अनुसार रोगग्रस्त जनावरलाई दिइने औषधिको असर मासुमा रहन सक्ने भएकाले त्यस्तो मासु खाँदा मानिसमा एन्टिबायोटिक प्रतिरोध हुने खतरा हुन्छ। साथै, दीर्घकालीन एलर्जी, विषाक्तता, वा फुड पोइजनिङ जस्ता समस्या पनि निम्तन सक्छन्।
जोशी भन्छन्, “बिरामी जनावरको मासुमा प्रोटिन, भिटामिन र खनिजको मात्रा घट्छ, जसले पोषणको दृष्टिकोणले पनि त्यसलाई अयोग्य बनाउँछ।”
नेपालमा पनि लम्पी स्किन रोग लागेका जनावरको मासु बिक्री र उपभोग कानुनी रूपमा प्रतिबन्धित गरिएको छ। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा सम्बन्धी कानुनअनुसार यस्तो मासु बजारमा ल्याउनु वा खानु दण्डनीय अपराध हो।
विज्ञहरू भन्छन्, “मानिसमा प्रत्यक्ष असर नदेखिए पनि जोखिम टार्न रोगग्रस्त जनावरको मासु नखाने नै उत्तम उपाय हो।”