रवि लामिछानेविरुद्ध ठगी मुद्दा : सानो पाइला सहकारी प्रकरणमा ५ करोड ७४ लाख बिगो मागदाबी


रवि लामिछानेविरुद्ध ठगी मुद्दा : सानो पाइला सहकारी प्रकरणमा ५ करोड ७४ लाख बिगो मागदाबी
  • नवकिरण
  • अषाढ १, २०८२

काठमाडौं, असार १ – वीरगञ्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ।

उनीहरूविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय पर्सामा मुद्दा दायर भएको हो।

उक्त सहकारीबाट करिब १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी छ। प्रहरीले यसअघि १४ वैशाखमा नै अनुसन्धान सम्पन्न गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको थियो।

लामिछाने हाल रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।

सानो पाइला सहकारीका संरक्षक तथा पूर्वसञ्चालक जीबी राई रहेका छन्। वीरगञ्ज उपमहानगरपालिकाको वडा नं. ८, १३, १४, १८ र १९ मा कार्यक्षेत्र रहेको सो सहकारीले करिब ८ सय सदस्यबाट १ अर्ब ३५ करोड रुपैयाँ बचत संकलन गरेको थियो।

सहकारीले ऐन विपरीत गैरसदस्य र कार्यक्षेत्र बाहिरका व्यक्तिलाई ऋण प्रवाह गरेको आरोप छ। बचतको करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर लगानी गरी अपचलन गरिएको छ।

सहकारीबाट सञ्चालक राईसँग सम्बन्धित कम्पनीहरू — नेचर हब इन्टरनेसनललाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेटलाई १ करोड एक लाख रुपैयाँ ऋण प्रवाह गरिएको तथ्य पनि अनुसन्धानमा खुलेको छ।

प्रकरणमा संलग्नहरूमाथि सहकारी ऐन विपरीत काम गरेको, ठूलो परिमाणमा रकम अपचलन गरेको र योजनाबद्ध ठगी गरेको आरोप लागिएको छ।