काठमाडौं, असार १ – राप्रपा नेपालले हालै सम्पन्न जनआन्दोलनलाई उत्साहजनक सहभागिता भएको उल्लेख गर्दै आन्दोलनलाई थप सशक्त र व्यवस्थित रूपमा देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले ‘भ्रष्ट व्यवस्था, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेजी र सुशासनसहितको समृद्धि’ अभियानप्रति जनसमर्थन उल्लेखनीय रहेको भन्दै आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीति तय गरेको हो।
राप्रपाले काठमाडौं उपत्यकाका पालिकाहरूमा विरोध प्रदर्शन, घरदैलो तथा सचेतनामूलक कार्यक्रमहरू, उपत्यकाबाहिर जनप्रदर्शन र जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ। साथै, संयुक्त जनआन्दोलन समितिको संरचनालाई स्थानीय तहसम्म विस्तार गर्दै जुझारु युवा शक्तिको परिचालन गरिने बताइएको छ।
बैठकले आन्दोलनमा सहभागी सम्पूर्ण कार्यकर्ता, सर्वसाधारण र सञ्चारकर्मीलाई धन्यवाद दिँदै सरकारले दमनकारी शैली अपनाएको भन्दै कडा शब्दमा विरोध गरेको छ।
यही बैठकमा भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी र यसमा सरकारी संयन्त्रको संलग्नता रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
राप्रपा नेपालले यस घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको बताउँदै उच्च तहका नेता र कर्मचारी समेतको संलग्नताबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।
पार्टीले कानुनी राज्य र सुशासनप्रति जनविश्वास घटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। साथै, आन्दोलनसँगै संगठन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने निर्णय गरिएको छ।
बैठकले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँसहित सबैमाथि लगाइएका मुद्दा झूटा रहेको बताउँदै ती मुद्दा तुरुन्त फिर्ता लिई रिहा गर्न सरकारसँग माग गरेको छ।
राप्रपाले संयुक्त जनआन्दोलन समितिका सबै घटकहरूसँग सहकार्य गर्दै अग्रणी भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेको छ।