काठमाडौं, असार २४ – रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा बाढीले ठूलाे क्षति पुर्याएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार बाढीले कम्तीमा ६० प्रतिशत भौतिक संरचना नष्ट गरेको छ भने १४ जना कामदार बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा ८ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् । बाढीले बगर बगाउँदै ल्याउँदा उनीहरू सम्पर्कविहीन भएका हुन् ।
बाढीका कारण सुक्खा बन्दरगाहभित्रको रिटेनिङ वाल करिब ४ सय मिटरजति बगेको छ । बेचिङ प्लान्ट, लिटिगेसन सेड, वेयरहाउस, इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लक समेतमा व्यापक क्षति पुगेको समितिले जनाएको छ ।
वेयरहाउसको फाउन्डेसन नै बगाएको बाढीले पार्किङ क्षेत्रसमेत बालुवा र गिट्टीले पुरेको छ । इन्ट्री रोडको केही भाग र रिटेनिङ वालमा क्षति पुगे पनि मेन कम्प्लेक्स भवन र एक्जिट रोड भने सुरक्षित रहेको बताइएको छ।
समग्रमा हेर्दा सुक्खा बन्दरगाहको ६० प्रतिशत संरचना क्षतिग्रस्त बनेको समितिको मूल्यांकन छ ।