काठमाडौं, असार ३२ – संविधानिक नियुक्तिमा ‘कुलिङ पिरियड’ को प्रावधानमा देखिएको त्रुटिको विषयमा गठन भएको छानबिन समितिले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग विस्तृत सोधपुछ गरेको छ।
बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा झण्डै दुई घण्टा खतिवडासँग सोधपुछ भएको हो।
सोधपुछपछि सञ्चारकर्मीहरूले खतिवडासँग “सांसदको कठघरामा बस्न कस्तो लाग्यो?” भनी प्रश्न गर्दा उनले आफू कठघरामा नभई छलफलमा रहेको स्पष्ट पारे। “म आफैं सांसद हुँ, सभापतिको नाताले नै छानबिन आवश्यक ठानी समिति बनाएको हुँ”, उनले भने, “यो कठघरा होइन, स्वस्थ छलफल हो।”
संसदको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीलाई संवैधानिक नियुक्तिका लागि दुई वर्ष कुर्नुपर्ने व्यवस्था राखेको थियो। यो प्रावधानलाई बोलिचालीमा ‘कुलिङ पिरियड’ भनिन्छ।
तर, समितिको प्रतिवेदन पारित भइसकेपछि पनि पुरानो विधेयकमा कुलिङ पिरियडसँग मेल नखाने प्रावधान कायमै रहेको भेटिएको थियो। यसले संसदभित्रै विवाद सिर्जना गर्यो।
केही सांसदहरूले यसलाई नियोजित षड्यन्त्रको रुपमा लिँदै कडा आलोचना गरेका छन्। विवाद बढेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट विशेष छानबिन समिति गठन गरेका थिए।