जनकपुरधाम, साउन ६ – महोत्तरीका एक युवकको जनकपुरस्थित होटलमा भएको रहस्यमय हत्या प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३१ वर्षीय विमलेश यादव रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यादवको हत्या विवाहेत्तर सम्बन्धको कारणले भएको हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार, यादवमाथि छुरा प्रहार गरी पहिलो तलाबाट खसालिएको देखिएको छ।
जनकपुरस्थित होटल ‘एसपी एण्ड गेस्ट हाउस’को सिसिटिभी फुटेज अनुसार, शनिबार राति ९:५० बजे यादव एक युवतीसहित होटलमा प्रवेश गरेका थिए। तर, करिब ५ घण्टापछि आइतबार बिहान २:५७ बजे यादव नग्न र गम्भीर रक्ताम्मे अवस्थामा होटलको पहिलो तलाबाट खसेका देखिन्छन्।
फुटेजमा यादव खसेको केही मिनेटपछि ती युवती झरेर वरिपरि हेर्दै तीव्र गतिमा घटनास्थलबाट भाग्ने दृश्य पनि देखिएको छ।
घाइते अवस्थामा उद्धार गरिएका यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आइतबार बिहान पौने ८ बजे मृत्यु भएको थियो।
प्रहरीले युवतीको नाम भने सार्वजनिक गरेको छैन। तर, सिसिटिभी फुटेज तथा अन्य प्रमाणका आधारमा युवतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ।