काठमाण्डौ, साउन १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति विपिन पौडेलको मंगलबार राति क्रुजमै निधन भएको छ।
चेन्नईबाट सिंगापुर जाँदै गरेका पौडेलको यात्रा दौरान अचानक हृदयाघात भई निधन भएको रास्वपाका प्रवक्ता मनिषकुमार झाले जानकारी दिएका छन्। उनका अनुसार पौडेल परिवारका सदस्य तथा साथीहरूसँग सिंगापुर गइरहेका थिए।
५१ वर्षीय पौडेल रास्वपा स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहँदै आएका थिए। पार्टी गठनपछि उनी निरन्तर बर्दिया जिल्लाको सभापतिको भूमिकामा थिए।
प्रवक्ता झाले पौडेलको पार्थिव शरीर बुधबार नेपाल ल्याइने जानकारी दिएका छन्। पौडेलको असामयिक निधनप्रति पार्टीले दुःख व्यक्त गर्दै गहिरो समवेदना प्रकट गरेको छ।