कैलाली कारागारमा भीषण झडप : एकको मृत्यु, ४७ घाइते, पत्रकार प्रवेशमा रोक


कैलाली कारागारमा भीषण झडप : एकको मृत्यु, ४७ घाइते, पत्रकार प्रवेशमा रोक
  • नवकिरण
  • श्रावण २४, २०८२

कैलाली, साउन २४ – कैलाली कारागारमा शुक्रबार राति भएको भीषण झडपमा एक कैदीको मृत्यु र ४७ जना घाइते भएका छन्। प्रशासनले घटना गम्भीर बन्दै गएपछि कारागार र अस्पताल क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ, जसका कारण पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ।

धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु ब्लक ‘ए’ का कैदीहरूको फलामे रड आक्रमणबाट भएको हो। लागूपदार्थ मुद्दामा सजाय भोगिरहेका चौधरीलाई गम्भीर चोट लागेपछि सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै गर्दा ज्यान गएको हो। अस्पतालमा राखिएका ४७ घाइतेमध्ये धेरैका हातखुट्टा भाँचिएका छन्, एक जनाको शल्यक्रिया गरिएको छ र एक जनालाई आईसीयुमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा. शेर बहादुर कमरले जानकारी दिए।

अस्पतालको आपत्कालीन कक्षमा ठाउँ नपुगेपछि कोरोनाको समयमा प्रयोग भएको भवनमा पनि बिरामीहरूलाई सारिएको छ।

कारागारका ब्लक ‘ए’ र ‘बी’ बीचको भित्तो भत्काएर राति करिब १० बजेतिर झडप सुरु भएको निमित्त प्रमुख खरिदार रामकुमार चौधरीले बताए। घटना सुरु भएको खबर उनलाई मध्यरातमा मात्र थाहा भएको र तत्काल प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको उनले उल्लेख गरे।

क्षमता १५० जनाको भए पनि हाल ७ सय कैदी राखिएको कैलाली कारागारमा ठूलो संख्याका बन्दीहरू आक्रोशित रहँदा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललगायतका सुरक्षा अधिकारीहरू समेत भित्र प्रवेश गर्न सकेका छैनन्। जिल्ला सुरक्षा समितिको बैठक बसेको र गृह मन्त्रालयसँग समन्वय गरेर अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको हमालले जनाए।