काठमाडौं, साउन २४ – रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र चार जनाले उम्मेदवारीको इच्छा सार्वजनिक गरेका छन्।
शनिबार भैरहवामा सम्पन्न एमाले क्षेत्रीय समन्वय समितिको तेस्रो बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता तथा व्यवसायी शशी पौडेल, सिद्धार्थनगरका पूर्व मेयर तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी, र नेता यज्ञजित शाहले आधिकारिक रूपमा आकांक्षा व्यक्त गरेका हुन्।
एमाले केन्द्रीय नेतृत्वले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि हालसम्म कुनै महिलाले उम्मेदवारीमा चासो देखाएका छैनन्। जिल्ला अध्यक्ष यज्ञ गैरका अनुसार रुपन्देही जिल्ला कमिटी केही दिनभित्रै अन्तिम नाम सिफारिस गर्ने तयारीमा छ।
यो उपनिर्वाचन सांसद दीपक बोहोरा निधन भएपछि खाली भएको प्रतिनिधि सभा सदस्य पद पूर्तिका लागि हुँदैछ।