काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएको घटनापछि विवाद तीव्र बन्दै गएको छ।
प्रदर्शनकारीको हत्या भएको आरोप लगाउँदै जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका नेतामाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन तीव्र पारेका छन्।
सोमबार साँझ ‘हामी नेपालका’ समूहका संयोजक सुदन गुरुङ नेतृत्वको टोली जाहेरी दर्ता गर्न काठमाडौं जिल्ला प्रहरी परिसर पुगेको थियो। तर प्रहरी प्रशासनले सो जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताइएको छ।
त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा आकस्मिक बैठक बोलाएर परिस्थितिको समीक्षा गरेकी थिइन्। बैठकमा प्रहरीले जाहेरी दर्ता गर्न केन्द्रीय सुरक्षा समितिको लिखित आदेश आवश्यक पर्ने धारणा राखेको स्रोतले जनाएको छ।
बैठकका क्रममा गृहमन्त्री अर्याल भने तत्काल कारबाहीको पक्षमा देखिएका थिए। गृह मन्त्रालय स्रोतका अनुसार उनले प्रहरी अधिकारीलाई सोधे, ‘मंगलबार नै पक्राउ गर्न मिल्दैन?’ तर प्रहरीले तत्काल स्पष्ट जवाफ दिएको थिएन।
यसबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनका क्रममा गोली चलाउनेलाई कारबाही गर्न आग्रह गरेको बताइएको छ।
चारै सुरक्षा निकायले भने देशको शान्ति र स्थायित्वलाई ध्यानमा राख्दै संयम अपनाउनुपर्ने सन्देश दिएको स्रोतको भनाइ छ। यस घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगको प्रतिवेदन कुर्ने कि तत्काल कदम चाल्ने भन्ने विषयमा सरकारभित्र अन्तिम निर्णय भइनसकेको बताइएको छ।