काठमाडौं, कार्तिक ८ – आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन गृह मन्त्रालयले जनताको सहयोग र संयमता आग्रह गरेको छ।
मन्त्रालयले हाल जेनजी आन्दोलनका नाममा सामाजिक सञ्जालमार्फत प्रचार गरिएका धर्ना र प्रदर्शनका योजनाबारे ध्यानाकर्षण भएको बताउँदै यस्ता गतिविधिबाट देशमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमुखी वातावरण निर्माण भइरहेका बेला केही स्वार्थ समूहहरूले आन्दोलनको आवरणमा अशान्ति र अराजकता फैलाउने प्रयास गरिरहेका छन्। आयोजकहरू पनि यस्ता गतिविधिबाट सचेत रहन आवश्यक छ।”
मन्त्रालयले सरकार निर्वाचनका तयारी, कानुनी संशोधन र राजनीतिक दलहरूसँग संवादमा जुटिरहेको उल्लेख गर्दै जनताका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने स्पष्ट पारेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “शान्तिपूर्ण वातावरणमा जनतालाई सार्वजनिक सेवा लिन र स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षले जिम्मेवार व्यवहार देखाउन आवश्यक छ।”
सरकारले जनताको जायज मागप्रति संवेदनशील रहेको भन्दै कुनै पनि आन्दोलन वा प्रदर्शनले जनजीवन अस्तव्यस्त नबनाउने र स्थिर राजनीतिक वातावरण कायम गर्न सबैलाई सहकार्यका लागि आह्वान गरेको छ।
