सभामुख घिमिरेद्वारा कानूनमन्त्रीसहित प्रमुख सचेतकहरूसँग बैठक


सभामुख घिमिरेद्वारा कानूनमन्त्रीसहित प्रमुख सचेतकहरूसँग बैठक
  • नवकिरण
  • बैशाख ३०, २०८२

काठमाडौं, वैशाख ३० – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी जेठ महिनाको संसद सत्र र बजेट प्रस्तुतिको तयारीका सन्दर्भमा कानूनमन्त्री अजयकुमार चौरसियासहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग बैठक गरेका छन्।

बैठकमा एमालेका महेश वर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार तथा कांग्रेसबाट सरिता प्रसाईं सहभागी छन्। तर कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर रहेका कारण उपस्थित हुन सकेनन्।

सभामुखले जेठ महिनाको संसद क्यालेन्डर र पूर्वबजेट छलफलका लागि बैठक आह्वान गरेका हुन्। बैठकपछिनै कार्यव्यवस्था परामर्श समिति बैठक पनि बस्ने जानकारी दिइएको छ।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ, जसमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने बताइएको छ।

यही वैशाख २८ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन्। संविधान अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकोले सरकार त्यसकै तयारीमा जुटिरहेको छ।