काठमाडौं, जेठ ४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले विषयगत समितिहरूका संयोजकका रूपमा तोकेका वडाध्यक्षहरूमध्ये तीन जना वडाध्यक्षले जिम्मेवारी लिन अस्वीकार गरेका छन्। कांग्रेस र एमालेबाट निर्वाचित ती वडाध्यक्षहरूले जिम्मेवारी अस्वीकार गर्नुको कारण कार्यपालिकाबाट स्वीकृति नआएको जनाएका छन्।
मेयर बालेनले १ जेठमा सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन र विधायन समितिका संयोजकहरू परिवर्तन गरेका थिए। कांग्रेस र एमालेबाट निर्वाचित संयोजकहरूलाई हटाएर स्थानमा अन्य चार वडाध्यक्षलाई नयाँ संयोजकका रूपमा तोकिएको थियो।
नयाँ संयोजकको रूपमा कांग्रेसका वडाध्यक्ष वीरेन्द्र प्रजापति (सूचना प्रविधि समिति), दलबहादुर कार्की (सुशासन समिति), एमालेका विनोदकुमार राजभण्डारी (सम्पदा तथा पर्यटन समिति) र रास्वपाकी रोजिना श्रेष्ठ (विधायन समिति) नियुक्त गरिएका थिए। तर, श्रेष्ठ बाहेक अरू तीन वडाध्यक्षले बालेनले तोकेको जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।
ती वडाध्यक्षहरूले संयुक्त रूपमा मेयरलाई पठाएको पत्रमा भनेका छन्, “सम्बन्धित विषयगत समितिका संयोजक तोकिएको विषयमा कार्यपालिकाबाट अनुमोदन नभएको हुँदा उक्त जिम्मेवारी लिन उपयुक्त देखिँदैन।”
यसै कारण उनीहरूले आफूहरूलाई तोकिएको संयोजक पदमा नबस्ने जानकारी दिएका छन्।
मेयर बालेनले नगर कार्यपालिका नियमावली २०७४ को नियम १५ अनुसार पुराना संयोजकहरू हटाएर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकेका थिए। तर कार्यपालिकाको स्वीकृतिबिना यस्तो निर्णय कार्यान्वयन गर्न मिल्दैन भन्ने विपक्षी दलका वडाध्यक्षहरूको बुझाइ रहेको छ।