गृहमन्त्रीको राजीनामाको माग असंगत : एमाले प्रमुख सचेतक बर्तौला


गृहमन्त्रीको राजीनामाको माग असंगत : एमाले प्रमुख सचेतक बर्तौला
  • नवकिरण
  • जेष्ठ १३, २०८२

काठमाडौं, १३ जेठ  – नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्ने प्रतिपक्षी दलहरूको व्यवहारलाई असंसदीय र अराजनीतिक भन्दै आलोचना गरेका छन्।

संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई मन्त्रीको जिम्मेवारीसँग जोडेर राजीनामा माग्नु उपयुक्त नहुने बताए। उनका अनुसार, विगतमा पनि कैयौँपटक कर्मचारीहरू अनुसन्धानको दायरामा परेका थिए र आवश्यक कारबाही समेत भएको थियो।

उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कर्मचारीमाथि छानबिन थालेको आधारमा मन्त्रीको राजीनामा माग्नु हास्यास्पद र भ्रामक प्रवृत्ति हो। यसरी अघि बढेमा त दैनिकजसो कुनै न कुनै मन्त्रीले पद छोड्नुपर्ने अवस्था आउँछ।”

बर्तौलाले प्रतिपक्षीको यो कदमलाई “धान काट्ने मुसा, दोष पाउने भ्यागुता” प्रवृत्ति भन्दै आलोचना गरे। उनले समस्याको जडमा प्रहार गर्नुपर्ने सुझाव दिँदै भने, “जहाँ समस्या छ, त्यही हान्नुपर्छ, दोषीको पहिचान गरेर कारबाही गर्नु पर्छ, न कि राजनीतिक र व्यक्तिगत स्वार्थमा आधारित मागहरू अघि सारेर संसद् अवरुद्ध गर्नु।”

यसैबीच, मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेका थिए, जसका कारण संसद्को कार्यवाही प्रभावित भएको थियो।