राप्रपा नेपालको चेतावनी : अध्यक्ष थापा लगायतको रिहा नभए कडा आन्दोलन


राप्रपा नेपालको चेतावनी : अध्यक्ष थापा लगायतको रिहा नभए कडा आन्दोलन
  • नवकिरण
  • जेष्ठ १८, २०८२

काठमाडौं, जेठ १८ – राजसंस्था पुनःस्थापनाका पक्षमा गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरू पक्राउ परेपछि पार्टीले कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।

राप्रपा नेपालले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष थापा, शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनालाई शान्तिपूर्ण आन्दोलनको क्रममा पक्राउ गर्नु अमानवीय र अलोकतान्त्रिक कदम भएको उल्लेख गरिएको छ।

पार्टीले पक्राउलाई संविधानविपरीत, सर्वसत्तावादी शैलीमा भएको भन्दै धारा १६, १७ र २६९ को उल्लंघन भएको दाबी गरेको छ। साथै, थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक बहादुर सिंहलाई समेत पक्राउ गर्नु गैरजिम्मेवार कदम भएको पार्टीको भनाइ छ।

विज्ञप्तिमा, यदि गिरफ्तार नेताहरूलाई बिना शर्त तत्काल रिहा नगरिए आन्दोलनलाई थप सशक्त, चरणबद्ध र देशव्यापी बनाइने चेतावनी दिइएको छ। साथै घटनामा संलग्न सुरक्षाकर्मीहरूलाई निष्पक्ष छानबिन गरी कारबाही गर्न पनि पार्टीले सरकारलाई आग्रह गरेको छ।

राप्रपा नेपालले नागरिकहरूलाई उच्च मनोबलका साथ आन्दोलनमा सहभागिता जनाउन आह्वानसमेत गरेको छ।