विराटनगर, असार १३ – पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने तयारी गरिरहँदा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नेतृत्वले उनको पुनरागमन रोक्न रणनीति अघि सारेको छ।
असार ३ गते साँझ बालुवाटार पुगेर ओलीसँग झण्डै एक घण्टा लामो ‘वान अन वान’ भेटमा उनले एमालेको मुख्य नेतृत्वमा फर्कन चाहेको कुरा स्पष्टसँग राखेकी थिइन्। तर, सो कुराले ओलीलाई असहज बनाएको एमाले नेताहरू बताउँछन्। स्रोतका अनुसार, उक्त भेट संवादभन्दा पनि तिक्ततापूर्ण बहसमा परिणत भएको थियो।
भण्डारीले ओलीलाई ‘म पार्टीको मुख्य नेतृत्वका लागि तयारीमा छु, त्यसका लागि तपाईंको सहयोग चाहिन्छ’ भनेकी थिइन्। जवाफमा ओलीले ‘केका लागि सहयोग गर्नुपर्यो?’ भनेर प्रतिप्रश्न गरेपछि दुवैबीचको सम्बन्ध थप चिसिएको हो।
ओलीले भण्डारीलाई सुझाव दिँदै भनेको भनाइ स्रोतहरूले यस्तो छ: “अब म एक कार्यकाल मात्रै अध्यक्ष हुने हो। तपाईंले सक्रिय राजनीतिमा फर्कने कुरा नगरेकै राम्रो।”
पार्टी भित्रकै नेताहरूका अनुसार ओली र उनको पक्षले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणमा पनि अवरोध पुर्याएका छन्। काठमाडौं जिल्ला कमिटीले नवीकरणको सिफारिस गरेपनि एमाले केन्द्रीय कार्यालयले त्यसलाई होल्डमा राखेको छ।
भण्डारी पक्षधर नेताहरूले भने भण्डारीको सदस्यता नवीकरण भइसकेको र लेबीको भौचर पनि साथमै रहेको दाबी गरेका छन्। तर, पार्टी संगठन विभागका सचिव माधव ढुंगेलले सदस्यता नवीकरण प्रक्रियामा रहेको बताएका छन्। यसले सदस्यता अझै अनिश्चित अवस्थामा रहेको प्रष्ट हुन्छ।
ओली पक्षले आगामी विधान महाधिवेशनबाट पूर्वराष्ट्रपति, उपराष्ट्रपतिको जस्तो सम्मानित पद सम्हालेका व्यक्तिहरूलाई पार्टी सदस्य बन्न नपाउने प्रस्ताव अघि सार्ने तयारी गरेको छ। विष्णु पौडेलको संयोजकत्वमा गठित समिति साउन १ मा हुने सचिवालय बैठकमा यसबारे विधान संशोधन प्रस्ताव ल्याउनेछ।
विधान संशोधन पारित भएमा भण्डारीको एमाले प्रवेशको बाटो कानुनीरूपमै बन्द हुनेछ।
भण्डारी पक्ष भने एमालेमा पूर्वनिर्धारित ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमालाई कायम राख्नुपर्ने अडानमा छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे जस्ता नेताहरू यस अभियानमा सक्रिय छन्।
यता ओली भने भदौ २०–२२ मा हुने विधान महाधिवेशनमार्फत उमेरहद र कार्यकालको सीमा हटाएर आफूलाई फेरि अध्यक्ष बनाउने तयारीमा छन्। यस्तो तयारीबीच ओली र भण्डारीबीचको टकराव पार्टीभित्र गहिरिँदै गएको देखिन्छ।
भण्डारीले असार १४ गते मदन स्मृति दिवसको कार्यक्रममा आफू सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न सक्ने चर्चा पनि एमाले वृत्तमा चर्किएको छ। ओलीले त्यस कार्यक्रममै पहिले बोलेर जाने र त्यसपछि भण्डारीले बोल्ने कार्यक्रम तय भएको बताइन्छ।
एक समय निकै नजिक रहेका ओली–भण्डारीबीच हालको सम्बन्ध र आन्तरिक प्रतिस्पर्धाले एमालेमा नयाँ ध्रुवीकरणको संकेत दिएको छ। अबको दृश्य के हुने हो भन्ने प्रश्नमा सबको नजर असार १४ र साउन १ पछिका निर्णयहरूमा केन्द्रित छ।