काठमाडौं, साउन २१ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आगामी २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले एकल बहुमत प्राप्त गर्ने लक्ष्यसहित अभियान थालिएको बताएका छन्।
प्रवक्ता सापकोटाले माओवादी केन्द्र अहिले जनवर्गीय संगठन र विभिन्न मोर्चाहरुको सक्रियता बढेको बताउँदै पार्टीको जनसम्पर्क विस्तार तीव्र गतिमा भइरहेको दाबी गरे।
उनका अनुसार, स्थानीय तहको उपनिर्वाचन, स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनमा माओवादीले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ। “कुनैकुनै क्षेत्रमा कांग्रेस र एमाले एक भएर लड्दा पनि हाम्रो विद्यार्थी संगठनले जितेको छ,” सापकोटाले भने।
उदाहरणस्वरूप, विराटनगरको डिग्री क्याम्पसमा माओवादी विद्यार्थी संगठनले ३० वर्षपछि जित हात पारेको उल्लेख गर्दै उनले पत्रकार महासंघको निर्वाचनमा पनि कोषाध्यक्ष पदसहित विभिन्न प्रदेशमा पार्टीले सफलता पाएको जानकारी दिए।
सापकोटाका अनुसार, विगतमा पार्टीप्रति शहीद तथा वेपत्ता परिवारका गुनासो र असन्तुष्टिका कारण संगठन केही कमजोर भए पनि अब ती कमजोरीको आत्मसमीक्षा गर्दै सुधारको प्रक्रियामा अघि बढिरहेको छ।
“केन्द्रीय समितिको बैठकबाट समाजवादी क्रान्तिको स्पष्ट रूपरेखा तय गर्दै आगामी चुनावमा बहुमत प्राप्त गर्ने लक्ष्य निर्धारण गरिएको छ,” उनले भने।
पार्टीले पछिल्लो समय सञ्चालन गरेको हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले आम जनताको बिचमा माओवादीलाई पुनः जोड्ने काम गरेको उनले बताए।
“हामी जनताको घरदैलोमा पुग्यौँ, शहीद परिवार, वेपत्ता परिवार र मधेसका समस्याहरु बुझ्यौं र समाधानका सम्भावना खोतल्यौँ,” उनले थपे। “जनतालाई सिकायौँ पनि, जनताबाट सिक्यौँ पनि।”
प्रवक्ता सापकोटाले मधेसमा सामाजिक विभेद अझै पनि प्रमुख समस्या रहेको औँल्याउँदै अध्ययन तथा संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता पनि जनाए।
मध्यपहाडी लोकमार्ग अभियान हाल पोखरामा आएर स्थगित गरिएको भए पनि यसलाई फेरि निरन्तरता दिने निर्णय पार्टीले गरिसकेको उनले जानकारी दिए।