सरकारको कामप्रति बर्खास्त प्रचण्डको मुख टालिएको एमाले नेताको दाबी


सरकारको कामप्रति बर्खास्त प्रचण्डको मुख टालिएको एमाले नेताको दाबी
  • नवकिरण
  • श्रावण २७, २०८२

काठमाडौं, साउन २७ – नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कार्यहरूले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई आलोचना गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्तौलाले पछिल्लो समय सरकारले सुधार र विकासका थुप्रै काम गरेको उल्लेख गर्दै भने, “अहिलेको अवस्थामा देश बंगलादेश वा श्रीलंका बन्दैछ भन्ने आरोप गर्ने प्रमुख विपक्षी नेताको मुख टालिएको छ।”

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित गरेको र पछिल्लो एक वर्षमा मात्र २३ वटा विधेयक पास गरेको तथ्य प्रस्तुत गरे। यसले पुष्पकमल दाहाल नेतृत्वको सरकारले १८ महिनामा बनाएका कानुनभन्दा धेरै कानुन एक वर्षमा निर्माण गरेको उनको दाबी थियो।

बर्तौलाले सरकारको कामप्रति निजी क्षेत्र उत्साहित भएको र लगानी वातावरण सकारात्मक बन्दै गएको बताए। “सरकारले कुरा नभएर काम गरिरहेको छ,” उनले भने।

उनले प्रचण्डले अघि बढाएको आलोचना र विरोधका कारण अहिले सरकारले गरेको ठोस कामहरूले विपक्षीहरूलाई मौन बनाएको बताए।