चुनाव अघि मन्त्री पदबाट राजीनामा दिने तयारीमा कुलमान, ‘उज्यालो नेपाल’ पार्टी देशभर विस्तारतर्फ


चुनाव अघि मन्त्री पदबाट राजीनामा दिने तयारीमा कुलमान, ‘उज्यालो नेपाल’ पार्टी देशभर विस्तारतर्फ
  • नवकिरण
  • कार्तिक २७, २०८२

काठमाडौं, कार्तिक २७ – ऊर्जामन्त्री कुलमान घिसिङले आफू समर्थित नवगठित **‘उज्यालो नेपाल पार्टी’**को केन्द्रीय बैठकमा सहभागी हुँदै आगामी चुनाव अघि मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

निर्वाचन आयोगमा पार्टी दर्ता भएको भोलिपल्ट बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित घिसिङले चुनाव सुरु हुनु एक महिना अघि सरकारबाट बाहिरिने र पूर्ण रूपमा चुनावी प्रचारमा जुट्ने बताएका हुन्।

बैठकमा सहभागी नेताहरूका अनुसार घिसिङले “दुई पदमा एकसाथ नबस्ने” भन्दै स्पष्ट अडान लिएका छन्। उनले भने, “म पार्टीमा भए सरकारमा हुँदिन, सरकारमा भए पार्टीमा हुँदिन।”

बैठकमा ४५ जना केन्द्रीय सदस्यहरू सहभागी भएका थिए। छलफलमा आगामी रणनीति, प्रविधिमार्फत प्रचार विस्तार, र संगठन निर्माणका विषयमा प्राथमिक छलफल भएको थियो। उज्यालो नेपालले अब देशभर संगठन विस्तार र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

पार्टीका नेताहरूका अनुसार उज्यालो नेपालले अध्यक्ष बाहेक अन्य पदाधिकारी तत्काल घोषणा नगरी एक संयोजकको नेतृत्वमा चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ। प्रवक्ताको जिम्मेवारी भने केही दिनभित्र तोकिनेछ।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय पार्टी अध्यक्ष छन्। उनी पहिले राजसंस्थाको पक्षमा सामाजिक सञ्जालमा विचार राख्दै आएका थिए, तर अहिले नयाँ राजनीतिक दृष्टिकोणमा अघि बढेको पार्टी स्रोतले जनाएको छ।

उज्यालो नेपालका दोस्रो वरीयताका नेता डा. ताराप्रसाद जोशी एकीकृत समाजवादीका पूर्व नेता हुन्। यसैगरी जीतराम लामा, प्रा.डा. महेन्द्रसुन्दर लावती, डा. घनश्याम पाण्डे, सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. विशाल भण्डारी लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पार्टीमा सक्रिय छन्।

घिसिङले बैठकमा सबैलाई ‘जनजातिको मात्रै पार्टी होइन, राष्ट्रिय समावेशी शक्ति’का रूपमा पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए।

उज्यालो नेपालले वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने रणनीति पनि अघि सारेको छ। काठमाडौंका मेयर बालेन शाह, विवेकशील साझाका पूर्व नेता सुमना श्रेष्ठ, र जेनजी अगुवा सुदन गुरुङ लगायतसँग सहकार्यका प्रयास जारी रहेको नेताहरूले बताएका छन्।

कुलमानले पार्टी पहिलो दल बन्ने दाबी गर्दै चुनाव समयमै हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, सरकारबाट बाहिरिएपछि पूर्व सचिवहरू र अन्य प्रतिष्ठित व्यक्तिहरू पनि पार्टीमा जोडिनेछन्।

पार्टीको केन्द्रीय कार्यालय यही साता उद्घाटन गर्ने तयारी भइरहेको छ। उज्यालो नेपालले आफूलाई वैकल्पिक राजनीतिक शक्ति बनाउँदै आगामी निर्वाचनमा ठुलो प्रभाव पार्ने लक्ष्य राखेको छ।