जेनजी र नेकपाका मुद्दा समान रहेको प्रचण्डको अभिव्यक्ति


जेनजी र नेकपाका मुद्दा समान रहेको प्रचण्डको अभिव्यक्ति
  • नवकिरण
  • मंसिर ६, २०८२

काठमाडौँ, मंसिर ६ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूले उठाइरहेका माग र आन्दोलनका विषयहरूले आफ्नो पार्टीका मुद्दासँग समानता राख्ने बताएका छन्।

शनिबार पेरिसडाँडामा आयोजित ‘जेनजीसँग नेकपा’ कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी पुस्ताको राजनीतिक सक्रियता देशभर नयाँ सन्देशका रूपमा फैलिएको उल्लेख गरे।

प्रचण्डले युवाहरूले उठाएका मागहरू न्यायोचित रहेको भन्दै आफू पनि ती मुद्दाहरू विगतदेखि उठाउँदै आएको दाबी गरे। उनका अनुसार सरकारले र विभिन्न पक्षहरूले समस्या सुन्न ढिलाइ गरे पनि युवाहरू सडकमा आएपछि मात्र सबैको ध्यान त्यततिर केन्द्रित भएको छ।

उनले भने, “देशमा धेरै प्रकारका समस्या देखिएका छन्। सरकार वा सडकबाट पनि समाधानका प्रयास भए, तर आवश्यक सुनुवाइ भएन। तर युवाहरू एकजुट भएर आवाज उठाएपछि अवस्था बदलिन थाल्यो।”

कार्यक्रममा नेकपामा प्रवेश गरेका जेनजी युवाहरूप्रति आभार व्यक्त गर्दै प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका यात्रामा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको बताए। जेनजी र नेकपाका उद्देश्य मिल्ने भएकाले दुवै पक्षले संयुक्त रूपमा काम गर्दा ठूलो प्रभाव पर्ने विश्वास उनले व्यक्त गरे।