नेतृत्वमा अयोग्य व्यक्तिहरू प्रवेशको गुनासो, प्रचण्ड असन्तुष्ट


नेतृत्वमा अयोग्य व्यक्तिहरू प्रवेशको गुनासो, प्रचण्ड असन्तुष्ट
  • नवकिरण
  • मंसिर ११, २०८२

काठमाडौं, मंसिर ११ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व संरचनामा अनावश्यक विस्तारले संगठन कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।

बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पालिका कमिटीको हैसियत नहुने व्यक्तिहरू समेत अहिले केन्द्रीय समिति र पोलिटब्युरोमा पुगेको गुनासो आइरहेको बताए।

उनका अनुसार यस्ता कार्यशैलीले इमानदार कार्यकर्ताको मनोबल गिराउँछ र राष्ट्रिय राजनीतिमा आवश्यक पर्ने आन्दोलन तयार गर्न बाधा पुर्‍याउँछ। “केन्द्रीय सदस्यको संख्या मात्र बढाउने कामले ईमानदार साथीहरू अपमानित महशुस गर्छन्,” प्रचण्डले भने, “यसले पार्टीको आधार कमजोर बनाउन सक्छ।”

प्रचण्डले पार्टीको एकताले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिहरूमा असहजता पैदा गरेको दाबी पनि गरे। उनले अवसरवादी तत्त्वहरूले झूट र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधि तीव्र बनाएको आरोप लगाए।

बैठकले आगामी कारबाहीसम्बन्धी निर्णय पनि गरेको छ। प्रदेशस्तरीय एकता सभा मंसिर २३ गते हेटौँडामा आयोजना गर्ने र त्यसपछि जिल्ला तथा पालिका तहमा पनि सभा विस्तार गर्ने निष्कर्ष निकालिएको बैठक सहभागीहरूले जानकारी दिएका छन्।