एमालेको शैली समाजवादसम्म नपुग्ने : झलनाथ खनालको आरोप


एमालेको शैली समाजवादसम्म नपुग्ने : झलनाथ खनालको आरोप
  • नवकिरण
  • मंसिर १५, २०८२

विराटनगर, मंसिर १५ – नेकपा नेता झलनाथ खनालले देश गम्भीर राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिरहेको भन्दै कम्युनिस्ट शक्तिहरूलाई एकतामा उभिन आग्रह गरेका छन्।

मंसिर १५ गते विराटनगरमा आयोजित नेकपाको सन्देश सभामा बोल्दै पूर्वप्रधानमन्त्री खनालले वर्तमान अवस्थाको समाधानका लागि कम्युनिस्ट पार्टीहरूको ऐक्यबद्धता अपरिहार्य रहेको औंल्याए।

उनका अनुसार मार्क्सवाद र लेनिनवादलाई केन्द्रमा राखेर नयाँ संरचना निर्माण गर्ने उद्देश्यसहित पार्टी एकता अघि बढाइँदैछ। “नेपाली विशेषताको समाजवादी व्यवस्था निर्माण गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

खनालले एमालेको वर्तमान राजनीतिक अभ्यासले समाजवादसम्म पुग्न नसक्ने टिप्पणी गर्दै कम्युनिस्ट आन्दोलनलाई विचलित गर्ने आन्तरिक कमजोरी र विदेशी चलखेल नै पटक–पटक विभाजनका कारण भएको उल्लेख गरे।

कृषि क्षेत्रलाई रूपान्तरण गर्ने कार्यक्रम सुरुदेखि नै कम्युनिस्टहरूले उठाएको बताउँदै उनले सत्तासीन भएपछि त्यही एजेन्डा बिर्सिने प्रवृत्ति दुर्भाग्यपूर्ण रहेको बताए। “कृषि क्रान्ति हाम्रो दीर्घकालीन मूल एजेन्डा हो, त्यसलाई व्यवहारमा उतराएर मात्र समाजवादी संरचना सम्भव हुन्छ,” नेताको भनाइ थियो।

सभामा उपस्थित नेता तथा कार्यकर्ताले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न एकीकृत कम्युनिस्ट नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।