धनगढी, मंसिर २५ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार चयनको तयारी तीव्र बनेको छ।
नेपाली कांग्रेसले आरजु राणालाई उम्मेदवारका लागि सिफारिस गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट नारदमुनि राना र रणबहादुर चन्द लगायत आधा दर्जन नेताहरू टिकटका लागि प्रतिस्पर्धामा छन्।
नारदमुनि रानाले २०७४ मा कांग्रेसकी आरजु राणा देउवालाई पराजित गर्दै जित दर्ता गराएका थिए र त्यसपछि वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए। तर २०७९ को निर्वाचनमा उनी कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए। अनुभव र संगठनात्मक आधारका कारण उनलाई यसपटक बलियो दाबेदार मानिएको छ।
रणबहादुर चन्दलाई एमालेभित्र सबैसँग समन्वय गर्न सक्ने नेता मानिन्छ। उनी २०७९ को स्थानीय तह निर्वाचनमा मेयर पदमा पराजित भए पनि पार्टीभित्र पकड बलियो रहेको बताइन्छ। प्रदेश सचिवालय सदस्य नेपालु चौधरी र कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना पनि टिकटका लागि सम्भावित उम्मेदवारको सूचीमा छन्। हालका प्रदेशसभा सदस्य धर्मराज पाठकको नाम पनि चर्चा भएको छ।
एमालेले टिकट वितरणमा स्थानीय संगठन, जनआधार, विगतको निर्वाचन परिणाम र पार्टी नेतृत्वको निर्णयलाई आधार बनाउने जनाएको छ। यसैबीच पार्टीभित्र युवा पक्षले नयाँ अनुहारलाई अवसर दिनुपर्ने तर्क राख्दै आएको छ।
कैलाली–५ मा चुनावी तयारीले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा अझै तीव्र हुने देखिन्छ, र अन्तिम टिकट वितरण अझै टुंगो लाग्न बाँकी छ।
