चुनाव सफल पार्न प्रधानमन्त्री कार्कीको शीर्ष नेताहरूसँग छलफल, कार्कीले भनिन् ‘यो घर तपाईंहरूकै हो’


चुनाव सफल पार्न प्रधानमन्त्री कार्कीको शीर्ष नेताहरूसँग छलफल, कार्कीले भनिन् ‘यो घर तपाईंहरूकै हो’
  • नवकिरण
  • पौष १२, २०८२

काठमाडौं, पुस १२ – प्रधानमन्त्री सुशीला कार्की र तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अपराह्न पौने ४ बजे बालुवाटार पुगेका थिए।

छलफलको सुरुवातमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भएकोमा नेताहरूलाई धन्यवाद दिँदै राष्ट्रपतिबाट प्राप्त कार्यादेशअनुसार सरकार निर्वाचनको तयारीमा जुटिरहेको जानकारी गराइन्। उनले बालुवाटारलाई साझा घरको रूपमा चित्रण गर्दै लोकतान्त्रिक जिम्मेवारी पूरा गर्न सबै दलको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई केन्द्रमा राखेर आफूले रक्षाबाहेकका मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीहरूलाई हस्तान्तरण गरिसकेको बताइन्। निर्वाचन सफल बनाउनका लागि सबै शक्ति केन्द्रित गरिएको र त्यसकै सन्दर्भमा दलका नेताहरूसँग छलफल गर्न आफूले निम्ता दिएको उनले स्पष्ट पारिन्।

उनले निर्वाचनलाई जसरी पनि सफल बनाउन सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै हाल त्यसका लागि सकारात्मक वातावरण बन्दै गएको बताइन्। निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइएको जानकारी गराउँदै सुरक्षा संयन्त्रको मनोबल उच्च रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले राष्ट्रको भविष्य, स्थिरता र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि कुनै ढिलाइ नगरी निर्वाचन सम्पन्न गर्न सबैको साझा दायित्व रहेको उल्लेख गरिन्। यही आग्रहसहित नेताहरूलाई छलफलमा बोलाइएको उनको भनाइ थियो।