रास्वपाको समानुपातिक सूचीमा बालेन पक्षलाई ४० सिट


रास्वपाको समानुपातिक सूचीमा बालेन पक्षलाई ४० सिट
  • नवकिरण
  • पौष १३, २०८२

काठमाडौं, पुस १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बुझाइने बन्द सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबाट ४० जनाको नाम समावेश गरिने सहमति भएको छ।

रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको छलफलपछि यसबारे समझदारी बनेको बताइएको छ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची दर्ता गर्ने कार्यतालिका रहेको छ। समानुपातिक प्रणालीअनुसार रास्वपाले कुल ११० जनाको नाम बुझाउनुपर्नेछ, जसमा बालेन पक्षबाट ४० र बाँकी ७० जनाको नाम पार्टीकै तर्फबाट समावेश गरिने स्रोतले जानकारी दिएको छ।

यद्यपि आइतबार बिहान सार्वजनिक गरिएको रवि–बालेनबीचको सातबुँदे सहमति पत्रमा समानुपातिक सूचीको बाँडफाँडबारे स्पष्ट उल्लेख छैन। तर यस विषयमा मौखिक सहमति भएको र त्यसैअनुसार सूची तयार पारिने स्रोतको भनाइ छ।

रास्वपाले समानुपातिक सांसद उम्मेदवार छनोटका लागि पार्टीभित्र आन्तरिक मतदान प्रक्रिया अघि बढाइरहेको छ। लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गरिने पार्टीको तयारी रहेको छ भने बालेन पक्षको सूचीमा विभिन्न जेन–जी समूहका अगुवा पनि समावेश हुने जनाइएको छ।