रास्वपाको समानुपातिक सूचीप्रति तोसिमा कार्कीको कडा असहमति


रास्वपाको समानुपातिक सूचीप्रति तोसिमा कार्कीको कडा असहमति
  • नवकिरण
  • पौष १६, २०८२

काठमाडौँ, पुस १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले पार्टीले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सूचीले समानुपातिक प्रणालीको मूल मर्म नसमेटेको आरोप लगाएकी हुन्।

उनका अनुसार समानुपातिक प्रणालीको उद्देश्य भौगोलिक रूपमा पिछडिएका क्षेत्र, पहुँच र शक्ति नपुगेका तर क्षमतावान व्यक्तिलाई प्रतिनिधित्व दिलाउनु हो। तर हालको सूचीले विपन्न वर्ग, कर्णाली, सुदूरपश्चिम र ग्रामीण भेगको आवाज समेट्न नसकेको उनले बताएकी छन्।

तोसिमाले पार्टी नेतृत्वका आफन्त तथा पार्टीका महत्वपूर्ण पदमा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा अगाडि सरेको भन्दै यसले प्रणालीको औचित्यमाथि प्रश्न उठाएको उल्लेख गरेकी छन्।

उनले पार्टीको सचिवालय सदस्य तथा पदाधिकारीहरू समानुपातिक सूचीमा रहनु उचित नभएको धारणा पनि सार्वजनिक गरेकी छन्। पदाधिकारीहरू सधैँ लाभको स्थानमा रहने भएकाले प्राथमिक मतदान वा मूल्याङ्कन प्रक्रियामा उनीहरूलाई स्वाभाविक रूपमा फाइदा पुग्ने उनको भनाइ छ।

‘पार्टीको महाधिवेशन नहुँदासम्म अहिलेका पदाधिकारी र सचिवालय सदस्यहरू निर्वाचनबाट निर्वाचित भएका होइनन्। पार्टीभित्र पद सम्हाल्ने र निर्वाचनमा समानुपातिक सूचीमा पनि अगाडि नै नाम सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा फरक देखिन सकेन,’ उनले टिप्पणी गरेकी छन्।

अन्त्यमा उनले सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट आफ्नो नाम हटाएर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने साहस देखाउनुपर्ने माग गरेकी छन्।