१३ हजार मतसहित पहिलो भए पनि बन्दसूचीबाट हटाइएपछि जैरु असन्तुष्ट


१३ हजार मतसहित पहिलो भए पनि बन्दसूचीबाट हटाइएपछि जैरु असन्तुष्ट
  • नवकिरण
  • पौष १८, २०८२

काठमाडौं, पुस १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूची सार्वजनिक भएसँगै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। प्राइमरी इलेक्सनमार्फत छानिएका उम्मेदवारहरूलाई नै अन्तिम सूचीबाट हटाइएको भन्दै आलोचना सुरु भएको हो।

दलित क्लस्टरमा सबैभन्दा बढी मत ल्याएका रास्वपाका केन्द्रीय सदस्य विजय जैरु पनि बन्दसूचीमा अटाएनन्। प्राइमरी चुनावमा उनले १३ हजार १४३ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका थिए।

जैरुका अनुसार बन्दसूची तयार पार्दा पार्टी नेतृत्वले उनीसँग कुनै छलफल गरेन। “मेरो नाम काटिँदैछ भन्ने जानकारीसमेत दिइएन,” उनले बताए, “सूची सार्वजनिक भएपछि मात्र थाहा पाएँ।”

रास्वपाले प्राइमरी मतलाई ५० प्रतिशत भार दिने व्यवस्था गरेको भए पनि बाँकी मूल्यांकनका आधारहरू सार्वजनिक नगरिएकाले प्रश्न उठेको छ। यसले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि शंका पैदा भएको उनको भनाइ छ।

यद्यपि जैरुले पार्टीप्रति भरोसा कायमै रहेको बताए। “त्रुटि सच्याइन्छ भन्ने आशा छ,” उनले भने, “नभए पनि म रास्वपामै रहेर प्रत्यक्ष निर्वाचनमार्फत संघर्ष जारी राख्नेछु।”