काठमाडौँ, पुस २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा सहभागी विवेकशील साझा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।
बैठकले बालेन पक्षबाट वरिष्ठ नेतासहित २६ जना र विवेकशील साझा पक्षबाट ७ जनालाई केन्द्रीय सदस्य बनाएको छ। तर उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट भने हालसम्म केन्द्रीय सदस्य मनोनीत हुन सकेका छैनन्।
पदाधिकारीका विषयमा पनि सहमति नजिक पुगेको छ। वरिष्ठ नेतामा बालेन शाह रहने, महामन्त्रीमा इञ्जिनियर सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाह रहने टुङ्गो लागेको छ। उनेपाको भागमा वरिष्ठ उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र २१ केन्द्रीय सदस्य पर्ने सहमति भएको छ।
पुस १४ गते भएको सात बुँदे एकता सहमतिपछि देखिएको वैचारिक र सैद्धान्तिक विवाद शनिबार–आइतबारको छलफलपछि समाधान भएको नेताहरूले बताएका छन्। पार्टी विधानअनुसार १२२ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।
