महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको आग्रह


महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको आग्रह
  • नवकिरण
  • माघ १, २०८२

धनुषा, माघ १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महोत्तरीका कार्यकर्ता तथा युवा समाजका अगुवाहरूले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उम्मेदवारी दिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आग्रह गरेका छन्।

अनिल पाण्डे, विजय विनीत पाण्डे लगायत दर्जनौँ व्यक्तिहरूले काठमाडौँस्थित ज्वागलमा रहेका कुमार व्यञ्जनकारको निवासमा पुगेर बालेन शाहसँग भेट गरी चुनाव लड्न प्रस्ताव गरेका हुन्। भेटका क्रममा करिब एक घण्टा लामो छलफल भएको जनाइएको छ।

छलफलमा महोत्तरी–३ को राजनीतिक अवस्था र जनचासोका विषयमा जानकारी गराउँदै उक्त क्षेत्रले बालेन शाहजस्तो नेतृत्व खोजिरहेको कुरा कार्यकर्ताहरूले बताएका थिए। बालेन शाहको पैत्रिक गाउँ महोत्तरी–३ अन्तर्गत पर्ने एकडारा गाउँपालिकामा रहेकाले स्थानीय तहबाटै चुनाव लड्न जनताले चाहना व्यक्त गरिरहेको उनीहरूले जानकारी गराएका छन्।

झापाबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला महोत्तरी–३ पनि आफ्नो प्राथमिकतामा रहेको बालेन शाहले बताएको पाण्डेले जानकारी दिए। उनका अनुसार माघ ५ गते महोत्तरीको पिपरामा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएको छ।