काठमाडौँ, माघ २ – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको समर्थनमा गरिएको हस्ताक्षर फिर्ता लिइएको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ। पार्टीका ८८५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै देउवा समूह आयोग पुगेको हो।
शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गएको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष हस्ताक्षर फिर्तासम्बन्धी निवेदन तथा प्रमाण पेश गरेको जनाएको छ।
देउवा पक्षका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा गरिएको विशेष महाधिवेशन विधानसम्मत नभएको छ। उक्त महाधिवेशनमार्फत थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको दाबी गरिएको भए पनि त्यसका लागि आवश्यक वैधानिक आधार नपुगेको देउवा समूहको भनाइ छ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि पेश गरिएको प्रमाण अपुरो रहेको उल्लेख गर्दै त्यसलाई पुष्टि गर्न हस्ताक्षर फिर्ताको प्रमाण निर्वाचन आयोगमा बुझाइएको जानकारी दिए।
