चुनाव टार्ने विकल्प छैन, उम्मेदवार छनोट प्रक्रिया सुरु भइसकेको छ : प्रचण्ड


चुनाव टार्ने विकल्प छैन, उम्मेदवार छनोट प्रक्रिया सुरु भइसकेको छ : प्रचण्ड
  • नवकिरण
  • माघ २, २०८२

काठमाडौं, माघ २ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा चुनाव २१ फागुनमै हुने स्पष्ट पारेका छन्। उनले आफ्नो दलको तर्फबाट उम्मेदवार चयन प्रक्रिया सुरु भइसकेको र टिकट वितरणको काम अगाडि बढिसकेको जानकारी दिएका हुन्।

शुक्रबार चितवनको भरतपुर महानगरपालिकामा निर्माण गरिएको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव हुने–नहुने विषयमा अनावश्यक आशंका नगर्न आग्रह गरे। उनले राजनीतिक दलहरूको गतिविधि र जनताको मनोविज्ञान दुवै चुनावतर्फ उन्मुख भइसकेको भन्दै निर्वाचन टारिने सम्भावना नरहेको बताए।

उनले आफूले सरकारको गतिविधि, राजनीतिक वातावरण र जनअपेक्षालाई नियाल्दा चुनाव अनिवार्य रहेको निष्कर्षमा पुगेको उल्लेख गरे। प्रचण्डले प्रतिनिधिसभा चुनावको विकल्प खोज्नु देशका लागि थप असहज अवस्था र सम्भावित राजनीतिक दुर्घटनातर्फ धकेल्ने चेतावनीसमेत दिए।

चुनावको तयारीमा केन्द्रित हुन सबै दल र नागरिकलाई आग्रह गर्दै उनले समयमै निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक स्थायित्वका लागि अपरिहार्य रहेको बताए।