चुनावपछि गगन थापा नै प्रधानमन्त्रीको उम्मेदवार : सुनिल शर्मा


चुनावपछि गगन थापा नै प्रधानमन्त्रीको उम्मेदवार : सुनिल शर्मा
  • नवकिरण
  • माघ ३, २०८२

काठमाडौं, माघ ३ – नेपाली कांग्रेसका नेता सुनिल शर्माले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै हुने स्पष्ट पारेका छन्। यस विषयमा कुनै अन्योल नरहेको उनको भनाइ छ।

विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शर्माले भने, “चुनावपछि प्रधानमन्त्रीका लागि गगन थापा नै उम्मेदवार हुन्, यसमा द्विविधा छैन।”

पार्टी विभाजन भएको भन्ने आरोपलाई अस्वीकार गर्दै उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको बताए। नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासमा गुट र प्रतिस्पर्धा स्वाभाविक भएको उल्लेख गरे। उनले विधि र विधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै निर्वाचन आयोगका निर्णय स्वीकार गर्नुको विकल्प नरहेको बताए।

नेताहरूलाई व्यक्तिगत अहंकार त्यागेर निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै शर्माले गाउँ–गाउँमा पुगेर जित सुनिश्चित गर्ने रणनीतिमा लाग्नुपर्ने बताए। “अब गाउँ छिर्ने हो, जित ट्याक्क ल्याउने हो,” उनले भने।

उनले कांग्रेस आगामी चुनावमा गठबन्धनमा नजाने स्पष्ट संकेत पनि दिएका छन्।