काठमाडौं, माघ २१ – नेकपा (एमाले) का सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दाबाट अदालत पन्छिन नहुने धारणा व्यक्त गरेका छन्। काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो मुद्दामा हालसम्म सुनुवाइको मिति तोकिन नसकेकोप्रति आपत्ति जनाए।
उनले न्यायिक प्रक्रियाप्रति अन्योलको अवस्था सिर्जना भएको उल्लेख गर्दै न्यायाधीशहरू पन्छिने र न्यायिक निकाय मौन बस्ने परिस्थिति देखिएको टिप्पणी गरे। यसले आम नागरिकमा अन्योल र शंका बढेको उनको भनाइ थियो।
सचिव बस्नेतले वर्तमान सरकारमाथि पनि गम्भीर आरोप लगाए। उनका अनुसार सरकार निष्पक्ष भूमिकामा नभई कुनै निश्चित एजेन्डा अघि बढाउन माध्यम बनेको देखिन्छ। उनले ब्यारेक र प्रहरी कार्यालयमा मतपेटिका राखिएको विषय उठाउँदै निर्वाचन प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको दाबी गरे।
