परिवर्तनको नेतृत्व उज्यालोले गर्छ, अरूलाई प्रधानमन्त्री बनाउने एजेन्डा छैन : कुलमान


परिवर्तनको नेतृत्व उज्यालोले गर्छ, अरूलाई प्रधानमन्त्री बनाउने एजेन्डा छैन : कुलमान
  • नवकिरण
  • माघ २२, २०८२

जनकपुरधाम, माघ २२ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू कसैलाई प्रधानमन्त्री बनाउने उद्देश्यले नभई देशको नेतृत्व सम्हाल्न राजनीतिमा प्रवेश गरेको स्पष्ट पारेका छन्।

चुनावी कार्यक्रमका सिलसिलामा जनकपुरधाम पुगेका घिसिङले बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देशलाई दिशानिर्देश गर्ने जिम्मेवारी आफ्नै दलले लिने दाबी गरे। उनले उज्यालो नेपाल पार्टी नै मुलुकमा वास्तविक परिवर्तन ल्याउने शक्तिका रूपमा अघि बढेको बताए।

घिसिङका अनुसार पार्टी धेरै निर्वाचन क्षेत्रमा मजबुत प्रतिस्पर्धामा छ। विगतमा व्यक्ति वा दल केन्द्रित भएर मतदान भए पनि अब मुलुकको समृद्धि र भविष्यलाई ध्यानमा राखेर मत हाल्नुपर्ने समय आएको उनले उल्लेख गरे।

जेन–जी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टी रहेको बताउँदै घिसिङले नयाँ सोच र नेतृत्वलाई विश्वास गरेर काम गर्ने अवसर दिन मतदातासमक्ष आग्रह गरे।