काठमाडौं, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्। बुद्ध एयरको विमानमार्फत दिउँसो उनी भरतपुर आइपुगेका हुन्।
सचिवालय स्रोतका अनुसार चितवन पुगेपछि लामिछानेले लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम छ। त्यसपछि उनी भरतपुरको विशालचोकस्थित निवासमा जानेछन्।
खुट्टामा समस्या देखिएपछि केही समय काठमाडौंमै उपचार र आराममा रहेका लामिछाने उपनिर्वाचनको तयारी तीव्र पार्न चितवन पुगेका हुन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर–२ बाट पुनः उम्मेदवार छन्।
जनकपुरमा माघ ५ गते आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो। त्यसपछि उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
