बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कुनै दल वा नेताको जितका लागि नभई देशकै हितका लागि हुने बताएका छन्। उनले यसअघि पटक–पटक दल र नेताहरू विजयी हुँदै आए पनि यसपटक जनताले देशलाई जिताउने अवसर पाउने दाबी गरे।
रूपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदह खैरेनीमा आयोजित ‘जनसम्पर्क’ कार्यक्रममा बोल्दै लामिछानेले अबको निर्वाचनलाई परिवर्तनको निर्णायक मोडको रूपमा व्याख्या गरे। “हरेक चुनावमा दलहरू जित्दै आएका छन्, तर फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो,” उनले भने।
रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को टिम समाहित भएको विषयमा उनले पार्टीभित्र पदको बाँडफाँट नभई जिम्मेवारीको स्पष्ट विभाजन गरिएको स्पष्ट पारे। पार्टीभित्र नेतृत्वभन्दा कामलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
लामिछानेले आगामी पाँच वर्ष देशमा एउटै सभापति, एउटै प्रधानमन्त्री र स्थिर सरकार रहने दाबी पनि गरे। उनले घोषणापत्रभन्दा व्यवहार र काममा विश्वास गर्ने रास्वपाको नीति रहेको उल्लेख गर्दै विगतमा पुराना दलहरूले पूरा गर्न नसकेका काम आफूहरूले गरेर देखाउने प्रतिबद्धता जनाए।
देवदहबाट सुरु भएको रास्वपाको रूपन्देही जिल्ला स्तरीय अभियान सोमबार साँझ लुम्बिनीमा पुगेर समापन हुने पार्टीले जनाएको छ। त्यसपछि सभापति लामिछाने कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम रहेको छ।
रास्वपा रूपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माका अनुसार पार्टीले जिल्लाका पाँचैवटा निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गर्नेछ। समय अभावका कारण बाटोमा पर्ने २६ स्थानमा लामो सम्बोधन सम्भव नहुने भएकाले केही स्थानमा सभापति लामिछानेले हात हल्लाएर शुभेच्छा साटासाट गर्दै अघि बढ्ने कार्यक्रम तय गरिएको छ।
