काठमाडौं, माघ २६ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वस्तरमै लोकतन्त्रमाथि आक्रमण गर्ने प्रतिक्रियावादी शक्तिहरूको भूराजनीतिक चलखेल नेपालमा समेत देखिन थालेको बताएका छन्।
सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जाललाई आधार बनाएर साम्राज्यवादी शक्तिहरूले विभिन्न मुलुकमा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्ति बढेको र त्यसको असर नेपालमा पनि परेको बताए।
उनले विचार, सिद्धान्त, इतिहास र राजनीतिक विरासतबिनै केही व्यक्तिहरू सामाजिक सञ्जालकै सहारामा लोकप्रिय बन्न खोजिरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प र गहिरो राजनीतिक समीक्षा आवश्यक भएको धारणा राखे। त्यसै उद्देश्यका साथ आफूहरू राष्ट्र र जनताको हितमा समर्पित भएर नयाँ शक्तिको निर्माणमा जुटेको उनले बताए।
प्रचण्डका अनुसार विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक विभेदको अन्त्य, सामाजिक न्याय तथा उत्पादन, रोजगारी र समृद्धिलाई केन्द्रमा राखेर अघि सारिएका नेकपाका नीति र कार्यक्रमप्रति जनस्तरमा पुनः आशा र विश्वास बढ्दै गएको छ।
सामाजिक सञ्जाल र सूचना प्रविधिको युग भए पनि जनतासँग प्रत्यक्ष भेटघाट गर्दै घर–घरमा पुगेर बुझाउने राजनीतिक अभ्यास अझै प्रभावकारी रहेको उनको भनाइ थियो। हालको अवस्थामा सबैभन्दा नयाँ विचार र राजनीतिक एजेन्डा बोकेको पार्टी नेकपा मात्रै भएको दाबीसमेत उनले गरे।
कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले तथा नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत विभिन्न व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
