आज रुपन्देही–कपिलवस्तु–नवलपरासीमा बालेनको जनसम्पर्क अभियान


आज रुपन्देही–कपिलवस्तु–नवलपरासीमा बालेनको जनसम्पर्क अभियान
  • नवकिरण
  • फागुन २, २०८२

काठमाडौं, फागुन २ – बालेन्द्र शाह (बालेन) आज लुम्बिनी प्रदेशका तीन जिल्लामा चुनावी अभियानमा व्यस्त रहने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा क्रमिक रूपमा जनसम्पर्क तथा भेटघाट कार्यक्रम गर्नेछन्।

पार्टी स्रोतका अनुसार बालेनले रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा कार्यकर्ता र स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नेछन्। क्षेत्र नम्बर ४ अन्तर्गत मार्चवारी मन्दिर र लुम्बिनी पर्साचोकमा दिउँसो १ बजे कार्यक्रम तय गरिएको छ। त्यसपछि क्षेत्र नम्बर ५, ३ र १ मा क्रमशः निर्धारित समयअनुसार भेटघाट र जनसम्पर्क कार्यक्रम सञ्चालन हुने बताइएको छ।

कपिलवस्तुमा भने तौलिहवा, बहादुरजंगसहित विभिन्न स्थानमा दिउँसोदेखि अपराह्नसम्म कार्यक्रम राखिएको छ। क्षेत्र नम्बर १, २ र ३ मा छुट्टाछुट्टै समय तालिका बनाइएकाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरिने जनाइएको छ। साथै भैरहवा र धकधई क्षेत्रमा पनि भेटघाट कार्यक्रम तय गरिएको छ।

नवलपरासीमा अपराह्नपछि कार्यक्रम केन्द्रित हुनेछ। क्षेत्र नम्बर २ र १ मा निर्धारित समयअनुसार जनसम्पर्क कार्यक्रम सञ्चालन गरिनेछ भने चन्द्रौटा, गोरुसिङ्गे, परासी चोक, बलासपुर र गोपीगंजमा पनि कार्यकर्ता तथा मतदातासँग भेटघाटको कार्यक्रम राखिएको छ।

पार्टीका अनुसार कार्यक्रममा मतदातासँग प्रत्यक्ष संवाद, घण्टी अभिवादन तथा चुनावी अभियानबारे छलफल गरिनेछ। यसअघि शुक्रबार उनले नुवाकोट, धादिङ र गोरखामा पनि चुनावी कार्यक्रम सम्पन्न गरेका थिए। त्यसपश्चात पोखरा हुँदै उनी रुपन्देही पुगेका हुन्।