पाँच वर्षमा परिणाम दिने लक्ष्यसहित राष्ट्र निर्माणमा लाग्ने गगन थापाको घोषणा


पाँच वर्षमा परिणाम दिने लक्ष्यसहित राष्ट्र निर्माणमा लाग्ने गगन थापाको घोषणा
  • नवकिरण
  • फागुन ६, २०८२

काठमाडौँ, फागुन ६ – गगन थापा ले आगामी पाँच वर्ष राष्ट्र निर्माणका लागि समर्पित भएर अघि बढ्ने बताएका छन्। बौद्धिक पेसाकर्मी अभियान परिषद्ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा प्राप्त अवसरको पूर्ण सदुपयोग गर्न नसकेको स्वीकार गरे।

उनले अबको पाँच वर्ष देशलाई कुनै पनि प्रकारको दुर्घटनामा पर्न नदिई समावेशी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीको प्रतिज्ञापत्रमै पाँच वर्षभित्र देखिने परिणाम दिने योजना समेटिएको उल्लेख गर्दै थापाले युवापुस्ताले अपेक्षा गरेको परिवर्तन ल्याउने जिम्मेवारी नेपाली कांग्रेसले लिने बताए।

थापाका अनुसार सुधारको आवश्यकता रहेको वर्तमान परिस्थितिमा सुधारको स्पष्ट खाका र ग्यारेन्टीसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको हो। उनले राष्ट्र निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे।

लोकतन्त्रलाई कमजोर पार्ने वा ‘हाइज्याक’ गर्ने प्रवृत्तिबाट जोगाउन, प्रभावकारी सेवा प्रवाह र नतिजामुखी कामका लागि कांग्रेस रूपान्तरणसहित अघि बढेको उनको भनाइ थियो।