आगामी वर्षदेखि मल संकट नहुने गगन थापाको प्रतिबद्धता


आगामी वर्षदेखि मल संकट नहुने गगन थापाको प्रतिबद्धता
  • नवकिरण
  • फागुन ७, २०८२

काठमाडौं, फागुन ७ – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्षदेखि किसानले मल नपाएको गुनासो गर्नु नपर्ने दाबी गरेका छन् ।

पार्टीको ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ शीर्षक खुला बहस कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वमा सरकार बनेपछि मल आपूर्ति सुनिश्चित गरिने बताए ।

थापाका अनुसार हाल छुट्याइँदै आएको बजेट र विद्यमान खरिद ऐनले पर्याप्त मल उपलब्ध गराउन नसक्ने अवस्था रहेको छ । त्यसैले दीर्घकालीन समाधानका लागि बहुवर्षीय सम्झौताको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले अहिलेको मल वितरण प्रणालीमा समेत सुधार गरिने उल्लेख गर्दै मलको अभाव र कालोबजारी जस्ता समस्याको अन्त्य गरिने बताए । साथै, कृषि बीमालाई प्रभावकारी रूपमा लागू गर्दै किसानको जोखिम न्यूनीकरण गरिने र मध्यपूर्व लक्षित कृषि निर्यात प्रवर्द्धनमा जोड दिइने नीति कांग्रेसले अघि सारेको जानकारी दिए ।