रास्वपा नुवाकोटका नेता अशोककुमार थापाद्वारा पार्टी त्यागको घोषणा


रास्वपा नुवाकोटका नेता अशोककुमार थापाद्वारा पार्टी त्यागको घोषणा
  • नवकिरण
  • फागुन ९, २०८२

काठमाडौं, फागुन ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

थापाले पार्टीले मूल विचार र सिद्धान्तबाट विचलित हुँदै गएको आरोप लगाएका छन्। नेतृत्व चयन प्रक्रिया नीतिगत आधारमा नभई “आशिर्वादको संस्कृति” बाट प्रभावित हुन थालेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। संगठन निर्माणमा दिनरात खटिएका कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको र पार्टी क्रमशः अलोकतान्त्रिक दिशातर्फ उन्मुख भएको उनको दाबी छ। यस्तो परिस्थितिमा पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको उनले उल्लेख गरेका छन्।

थापा २०७९ सालको निर्वाचनयता रास्वपा नुवाकोटका जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जको जिम्मेवारीमा सक्रिय थिए। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रास्वपा नेता सुमनविक्रम पाण्डेका निकट मानिन्थे।

उनको बहिर्गमनलाई नुवाकोटको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।