कृत्रिम मानव डीएनए बनाउने विवादास्पद परियोजनालाई अनुमति


कृत्रिम मानव डीएनए बनाउने विवादास्पद परियोजनालाई अनुमति
  • नवकिरण
  • अषाढ १५, २०८२

काठमाडौं, असार १५ – वैज्ञानिकहरूले शून्यबाट मानव डीएनए निर्माण गर्ने प्रयास पुनः सुरु गरेका छन्। यसका लागि बेलायतको वेलकम ट्रस्टबाट प्राप्त १० मिलियन पाउन्डको अनुदानमा पाँच वर्ष चल्ने यो परियोजना सुरु गरिएको हो।

विवादास्पद मानिएको यो अनुसन्धान परियोजनाको उद्देश्य विद्यमान डीएनए सम्पादन नगरीकन कच्चा रसायन प्रयोग गरेर मानवको आनुवंशिक कोड (जीनोम) निर्माण गर्ने हो। यसले भविष्यमा नयाँ उपचार विधि, रोग निवारण र मानव जीवविज्ञानप्रतिको बुझाइमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गरिएको छ।

यस परियोजना क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिलको लेबोरेटरी अफ मोलेक्युलर बायोलोजीका प्रोफेसर जेसन चिनको नेतृत्वमा सञ्चालित हुनेछ। यसमा क्याम्ब्रिज, अक्सफोर्ड, म्यानचेस्टर, केन्ट विश्वविद्यालय र इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूको सहकार्य रहनेछ।

परियोजनाको मुख्य उद्देश्य सम्पूर्ण मानव जीनोम निर्माण नभई एउटा मानव क्रोमोजोम निर्माण गरेर प्रविधिगत आधार तयार गर्नु हो। साथै, केन्ट विश्वविद्यालयकी प्रोफेसर जोय झाङको नेतृत्वमा एक छुट्टै टोलीले जीनोम संश्लेषणसँग सम्बन्धित नैतिक, कानुनी र सामाजिक पक्षको अध्ययन गर्नेछ।

वेलकम ट्रस्टले यस परियोजनाबाट प्राप्त हुने सम्भावित फाइदाहरू नैतिक जोखिमभन्दा बढी हुने विश्वास लिएको जनाएको छ। अघिल्लो वर्षहरूमा वैज्ञानिकहरूले इ. कोली जस्ता सूक्ष्म जीवको कृत्रिम जीनोम सफलतापूर्वक विकास गरिसकेका छन्। पछिल्ला समय कृत्रिम बौद्धिकता, डेटा विज्ञान र मेशिन लर्निङमा भएको प्रगतिका कारण यो क्षेत्रमा तीव्र विकास भइरहेको छ।

तर युवा वैज्ञानिक डा. कमलराज ढकालले भने यस प्रविधिले भविष्यमा गम्भीर नैतिक समस्या निम्त्याउने चेतावनी दिएका छन्। उनका अनुसार, “यदि यो प्रविधि सफल भयो भने कृत्रिम रूपमा बनेका मानिसहरू निपूर्ण र निरोगी हुनेछन्, जसले प्राकृतिक रूपमा जन्मिएका मानिसहरूलाई हेप्ने प्रवृत्ति विकास गराउँछ।”

उनले थपे, “यसबाट उत्पन्न हुने मानिसहरूका बाबुआमा को भन्ने प्रश्न उठ्नेछ। यो प्रविधिले मानव जातिलाई दुईवटा वर्गमा विभाजन गर्न सक्छ – कृत्रिम जेनेटिक अप्पर क्लास र प्राकृतिक मानव।”